नुवाकोट, साउन ३०
बुधबार बिहान १० बजे नुवाकोटको बुङताङबाट त्रिशूलीतर्फ आउँदै गरेको बस लामाटारमा दुर्घटना हुदाँ ४९ यात्रु घाइते भएका छन् । गम्भीर घाइते भएका ११ जनालाई जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि बुधबार अपराह्न काठमाडौं पठाइएको छ ।
बुङताङबाट त्रिशूली आउन लागेको बा. २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका(९, लामाटारमा मिनीट्रकलाई बाटो दिन पछि हटेर अघि बढ्ने क्रममा दुर्घटना हुँदा चालक ज्ञानबहादुर तामाङसहित ४९ जनाभन्दा बढी घाइते भएको नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए ।
यात्रुले खचाखच भरिएको बस दुर्घटना हुँदा घाइते भएका ४९ जना जिल्ला अस्पतालमा उपचारका लागि भर्ना भएको र घाइतेको संख्या अझ बढी हुनसक्ने प्रहरीले जनाएको छ ।
घाइते भएका अधिकांश बुङताङ, साल्मे र देउरालीका यात्रु छन् । बिहान ८ बजे बुङताङबाट त्रिशूलीका लागि यात्रु लिएर आइरहेको बस लामाटारबाट भैरमकोट जान लागेको मिनीट्रकले बाटो नदिएपछि पछि हटेको र अघि बढ्ने क्रममा सडक भाँसिएर दुर्घटना हुँदा सडकबाट करिब ५० मिटर तल खसेको बस धनी र सोही गाडीमा आएका बुङताङका मानबहादुर तामाङले जानकारी दिए ।
गम्भीर घाइते हुनेमा देउरालीका ६० वर्षीय प्रेमसिङ तामाङ, ६१ वर्षकी चोकनी तामाङ, ५९ वर्षीय ज्ञानबहादुर तामाङ र तीन वर्षका बालक इसायन तामाङ रहेको प्रहरी प्रमुख कुँवरले जानकारी दिए । टिकामाया तामाङ, रिजम तामाङ, होमबहादुर तामाङ, रिता तामाङ र लेसाङ तामाङ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।