१२ फागुन, एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन् । डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटको आवाज समेत सुनिएको छ ।
विस्फोटको थप विवरण आउन बाँकी छ । रुस–युक्रेन तनावबारे छलफल गर्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपति पुटिनले टेलिभिजन सम्बोधनमार्फत पछिल्लो घोषणा गरेका हुन् ।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति पुटिनले कुनै जवाफ नदिएको प्रतिक्रिया दिएका थिए ।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झण्डै दुई लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको समेत बताएका छन् । उनले यो आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ ।
राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह समेत गरेका छन् ।
