१२ फागुन, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् ।
प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको प्रष्ट पारे ।
’सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ’, उनले भने । वरिष्ठ नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गरे । ’उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुनसक्छ’ उनले भने ।
एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए । ’एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो’, उनले भने, ’जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ ।’