चीनसँगको नाकामा देखिएको समस्या समाधानका लागि पहल गर्छौंः परराष्ट्रमन्त्री खड्का

१० चैत, काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सीमा नाकाको समस्या समाधानको लागि पहल गर्ने बताएका छन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले चीनसँगको आयात–निर्यातमा देखिएको समस्या समाधानको लागि पहल गर्ने बताए ।

सिन्धुपाल्चोकको तातोपानी नाका तथा रसुवाको नाकाबाट केही मात्रामा आयात भए पनि निर्यात ठप्प रहेको भन्दै मन्त्री खड्काले आयात तथा निर्यात दुवै सहज हुने व्यवस्थाका लागि आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गर्ने बताए ।

Advertisement

आयात सहज नहुँदा नेपाली व्यापारीले समस्या झेल्नुको साथै मूल्यवृद्धी लगायतका समस्या देखिएको र निर्यात नहुँदा नेपालको अर्थतन्त्र नै जोखिममा हुने भन्दै मन्त्री खड्काले नाका खोल्न सक्दो पहल हुने बताए ।

कोरोना महामारीका कारण बन्द भएको नाकामा चिनियाँ पक्षले निर्यात खुलाए पनि आयात नखुलाउँदा नेपालबाट निर्यात ठप्प रहेको छ ।

Advertisement

मन्त्री खड्कालाई ध्यानाकर्षणपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष होमबहादुर बस्नेतले २०७२ सालको भूकम्पपछि बन्द रहेको तातोपानी नाका पहिलेको अवस्थामा फर्कन नसक्दा र निर्यात ठप्प हुँदा झण्डै १० हजार जनाले प्रत्यक्ष रोजगारी गुमाउनुको साथै व्यापार व्यवसाय धरासायी बनेको बताए ।

नाका नियमित नहुँदा चालक, परिचालक, लोडर लगायतका स्वरोजगार मजदुरहरुको काम पनि बन्द भएको छ । उनले नेपाल र चीन दुवैतर्फ कोरोना सङ्क्रमणको जोखिम कम भए पनि चिनियाँ पक्षले कोरोनाकै कारण देखाइ नेपालबाट सामग्री लैजान रोक लगाएको र नेपाल तर्फको आयात पनि सहज नभएको बताए ।

विज्ञप्तिमा नाकालाई नियमित गरी सहज आयात निर्यातको व्यवस्था गर्न माग गरिएको छ । यस्तै विज्ञप्तिमा अरनिको राजमार्ग विभिन्न ठाउँमा जीर्ण बनेको भन्दै मर्मत सुधारको लागि पहल गर्न पनि आग्रह गरिएको छ ।

अध्यक्ष बस्नेतसँगै निवर्तमान् अध्यक्ष वेदबहादुर श्रेष्ठ, उपाध्यक्ष सूर्यबहादुर कार्की, महासचिव सम्भुबहादुर तिमल्सिनालगायतको टोली परराष्ट्रमन्त्रीको निवास पुगेर ध्यानाकर्षणपत्र बुझाएको हो । चिनियाँ विदेशमन्त्री वाङ यी भोलि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top