सुनसरी । सुनसरीमा वडा तहदेखि नै चुनावी तालमेल गर्ने गठबन्धन बिच सहमति भएको छ ।
बुधवार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको पाँच दलको बैठकले वडा तह बाटै गठबन्धन गर्ने निर्णय गरेको छ । बैठकले एक कार्यदल समेत बनाएको छ ।
तालमेलको निर्णय गर्न कांग्रेस सचिव वीरेन्द्र साह, माओवादीका मुक्साहाङ मेन्याङ्बो, नेकपा एसका सचिव वसन्त सुवेदी, जसपाका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी रहेको कार्यदल गठन गरेको छ । कार्यदलले स्थानीय पालिकाहरूको वस्तुगत अवस्था अध्ययन गरि चैत २६ गते सम्ममा प्रतिवेदन तयार गर्ने जनाइएको छ ।
गठबन्धनमा आबद्ध सबै दलहरूको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी, माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र प्रसाद मण्डल, नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चा सुनसरी प्रतिनिधि हरिलाल अधिकारीले एक संयुक्त विज्ञप्तिमार्फत गठबन्धन गर्ने सहमति भएको जनाएका हुन ।
गठबन्धनमा रहेका ५ दल बाहेकका अन्य दलसँग भने गठबन्धन नगर्ने सहमति समेत भएको छ ।