काठमाडौँ,भदौ १
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष ०७४/०७५ मा कुल आम्दानीको ५५.९१ प्रतिशत रकम बिजुली खरिदमा खर्च गरेको छ । गत वर्ष प्राधिकरणले नेपालका निजी उत्पादक र भारतबाट गरी जम्मा ३३ अर्ब ८१ करोड रुपैयाँ बराबरको बिजुली खरिद गरेको थियो । प्राधिकरणले भारतबाट मात्र १९ अर्ब २७ करोड रुपैयाँ बराबरको २ अर्ब ५८ करोड युनिट बिजुली खरिद गरेको हो ।
प्राधिकरणले औसत प्रतियुनिट ७ रुपैयाँ ४७ पैसामा २ अर्ब ५८ करोड रुपैयाँको बिजुली आयात गरेको छ । यस्तै निजी लगानीकर्ताबाट औसत प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा बिजुली किनेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको उपभोक्ता औसत महसुल दर प्रतियुनिट १० रुपैयाँ ४ पैसा छ । भारतबाट खरिद हुने बिजुलीको हिस्सा ३६ प्रतिशत छ ।
भारतबाट थप परिमाण आयात र वार्षिक मूल्यवृद्धिका कारण खरिद लागत १९.३६ प्रतिशत बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार उपलब्ध बिजुली मध्ये खरिदको परिणाम ६७.३० प्रतिशत रहेको छ । यस्तै यसमध्ये ६१.४५ प्रतिशत भुत्तानी भएको छ । गत वर्ष कुल आम्दानीमा १६.९८ प्रतिशत बढेर ६० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको कुल आम्दानी ५१ अर्ब ७० करोड रुपैयाँ थियो ।
गत वर्ष बिजुली माग १२.७९ प्रतिशत बढेर ७ अर्ब ५ करोड ७९ लाख युनिट पुगेको छ । अघिल्लो वर्ष ६ अर्ब २५ करोड ७७ लाख युनिट बिजुली माग भएको थियो । यसमध्ये विद्युत प्राधिकरणको ३२.७१, भारतबाट ३६.५८ र निजी क्षेत्रको ३०.१७ प्रतिशत हिस्सा रहेको छ । राष्ट्रिय प्रणालीबाट बिजुली उपयोग गर्ने जनसंख्या ७० प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएपछि भारतबाट आउने बिजुली सुख्खायाममा मात्र किन्नु पर्ने अवस्था आउने छ । यसका लागि विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतमा बेच्ने र सुख्खायाममा किन्ने गरी ऊर्जा बैंकिङ योजना कार्यन्वयनमा ल्याउने तयारी गरेको छ । यसमा भारत सकरात्मक देखिएको जनाईएको छ ।
(विकास न्युजबाट)