तनहुँ, ४ वैशाख । नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरूबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति जुटेको हो ।
जोशीका छोरा दीपकराजले तनहुँका पालिकाहरूमा एमालेसँग तालमेल गर्ने सहमति भएको जानकारी दिएका छन् । एमालेसँग मिलेर तनहुँका सबै पालिकामा साझा उम्मेदवार बनाउने सहमति भएको उनकाे भनाइ छ ।
तालमेललाई प्रभावकारी बनाउन एमाले तथा जोशी समूहबाट चार–चारजना गरी आठ सदस्यीय चुनाव परिचालन समिति समेत गठन गरिएको छ । दीपकराजले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् ।
तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । गत प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको थियो । पौडेल त्यसबेला एमालेका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए ।
श्रेष्ठ अहिले एकीकृत समाजवादी पार्टीका तर्फबाट श्रममन्त्री छन् । जाेशी समूह र एमालेबीच हुने चुनावी तालमेलले तनहुँमा नेपाली कांग्रेससहित सत्ता गठबन्धनलाई संकट पर्ने सक्ने आकलन गरिएकाे छ ।
