काठमाडौं, ४ वैशाख । सत्ता गठबन्धनको कार्यदल बैठकमा गठबन्धनमा आवद्ध दलले देशका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठकमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आ आफ्नो दाबी पेस गरेका छन् ।
माओवादी केन्द्रले चितवनको भरतपुुर महानगरपालिका र धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकाको मेयरमा दाबी गरेको छ । यी स्थगानीय तहमा आफ्नो पार्टीले जित्ने आधारसहित माओवादीले दाबी गरेको हो ।
यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र इटहरी, हेटौंडा र तुलसीपुर उपमहानगरपालिकाको मेयरमा दाबी गरेको छ । बैठकमा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले आफ्नो पार्टीले जित्ने आधारसहित दाबी पेस गरेका थिए । हेटौंडामा माओवादी केन्द्रको पनि दाबी छ ।
निर्वाचन परिचालन तथा अनुगमन समितिका संयाेजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले आज छलफल मात्र भएकाे बताए । उनले भाेलि पनि छलफल हुने जानकारी दिए ।