काठमाडौं, ५ वैशाख ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख २ हजार ५ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला १ लाख २ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ५ सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर १ हजार ४ सय २० पुगेको महासंघले जनाएको छ ।
बजारमा सुनचाँदीका आयातमा बैंकहरूले एलसी नखोलेपछि यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरूले माग गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८५ डलर आसपास कारोबार भइरहेको छ ।
