विराटनगर, ६ वैशाख । विराटनगरको हस्पिटल चोकमा गएराती भीषण आगलागी हुँदा ठुलो क्षति भएको छ । गएराती १२ः१५ बजेतिर विराटनग–९ हस्पिटल चोकस्थित शोभादेवी घिमिरेको जग्गामा टिनको छानो लगाएर बनाइएको घरमा सञ्चालन गरिएका होटल तथा पसलहरुमा आगलागी हुँदा ठुलो परिमाणमा क्षती भएको हो ।
आगोले दुईवटा होटल, एउटा कपडा र एउटा किराना एवं भाँडा पसल जलेर पूर्णरुपमा नष्ट भएको छ । आगो नियन्त्रणमा खटिएका दमकलका तीन जना कर्मचारी घाइते भएका छन् । ग्यास शिलिन्डर विष्फोट हुन थालेपछि आगो झन् फैलिएको थियो । शिलिन्डर विष्फोटका कारण आगो नियन्त्रणमा समस्या भएको थियो ।
मध्यराति सुरु भएको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको मोरङ प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा लिने क्रममा दमकलका तीन जना कर्मचारी घाइते भएका छन् । दमकलका कर्मचारीहरु विराटनगर–४ का ३७ वर्षीय भीम विष्ट, विराटनगर–२ का ३७ वर्षीय अशेष दाहाल र सुनसरी दुहवी–१२ का १९ वर्षीय प्रेमकुमार राजवंशी घाइते भएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । उनीहरुको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । घाइते सवैको अवस्था सामान्य रहेको जनाइएको छ ।