काठमाडौं, ९ वैशाख । नेकपा एमालेले विपन्न परिवारलाई घरायसी प्रयोगको लागि विद्युत् नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
शुक्रबार एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् नि:शुल्क उपलब्ध गराउने उल्लेख छ । घोषणापत्रमा भनिएको छ, ‘प्रत्येक नागरिकका घरमा विद्युत् सुविधा र विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् नि:शुल्क उपलब्ध गराइनेछ ।’
विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय वृद्धि र पर्यावरण संरक्षण गर्ने प्रतिबद्धता पनि एमालेले जनाएको छ ।
‘ऊर्जा उत्पादन र वितरणमा सामुदायिक, सहकारी एवं पालिकाको सहभागिता सुनिश्चित गर्नेगरी आवश्यक कानुनी र संरचनात्मक प्रबन्ध गर्ने, नेपाल विद्युत् प्राधीकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।
पालिकामा सञ्चालित जलविद्युत् आयोजनाबाट स्थानीय समुदायलाई साझेदार र लाभान्वित बनाउन पहल गर्ने पनि एमालेले उल्लेख गरेको छ ।