२३ जेष्ठ,विराटनगर । स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा (एमाले) निकट नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङले सम्मान गरेको छ ।
विराटनगरमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै गएको वैशाख ३० मा सम्पन्न स्थानीयतहको निर्वाचनमा एमालेबाट निर्वाचित महानगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
विराटनगरको उपमेयरमा एमालेबाट निर्वाचित उपमेयर शिल्पा निराला कार्की, ९ वडाका वडाध्यक्ष र ३३ जना वडा सदस्य सहित भर्खरै सम्पन्न कार्यपालिकाको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङका अध्यक्ष अरुण राठीसहित संगठनमा आवद्ध पदाधिकारी र सदस्यहरुले जनप्रतिनिधिहरुलाई बधाई दिँदै खादा माला लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष राठीले पछिल्लो समय देशको अर्थतन्त्र ओरालो लागेको बताउदै एमालेले मात्र देशको आर्थिक अवस्था उकास्ने र नेपाललाई समृद्ध नेपाल सुखी नेपालीको दिशामा अघि बढाउने दावी गरे ।
कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य गुरु बरालले उद्योग व्यवसायका क्षेत्रमा अब्बल मारवाडी समुदाय राजनीतिमा समेत सकृय सहभागिता जनाउनुपर्नेमा जोड दिए ।
एमाले केन्द्रीय सदस्य विनोद ढकालले आर्थिक राजधानीको पहिचान बनाएको विराटनगर पछिल्लो समय ओझेलमा परेको बताउँदै देशकै आर्थिक मेरुदण्ड मनाउने दिशामा अघि बढ्न मारवाडी समुदाय र एमाले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा आर्थिक विभाग प्रमुख मोतीलाल दुगडले कांग्रेसलगायत अन्य पार्टीले मारवाडी समुदायलाई भोट बैंक र आर्थिक लाभका लागि मात्र प्रयोग गर्दै आएको बताउँदै एमालेले मात्र सो समुदायलाई सम्मान दिएको दावी गरे ।
कार्यक्रममा नेकपा (एमाले) विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले प्राविधिकरुपमा मेयरमा पराजित भएपनि उपमेयरसहित कार्यपालिकामा एकल बहुमत रहेकाले अब महानगर एमालेकै नेतृत्वमा रहेको बताए ।
उनले महानगर एमालेकै नेतृत्वमा रहेकाले आगामी पाँच वर्षमा सवैको अपनत्व हुनेगरी विराटनगरको चौतर्फी विकासमा लागि लागिपर्ने बताए ।
सम्मान कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा बामपन्थी मारवाडी युवा संगठनका संस्थापक अध्यक्ष मनोज अग्रवालले मारवाडी समुदायमा राजनीतिबाट टाढा रहने संस्कार रहेकाले राजनीतिमा सकृय सहभागिता जनाई त्यसलाई चिर्नुपर्ने बताए ।
यस्तै मारवाडी समुदायका अगुवा राजेश बगडीयाले विराटनगरमा मारवाडी समुदायका उद्योगी, व्यवसायीलाई आईपर्ने सवै समस्यामा एमालेले साथ दिने विश्वास व्यक्त गरेका थिए ।