३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको टिप्पणी गरेका छन् ।
नेकपा माओवादी केन्द्रले बर्दियामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा राखे ।
‘यो निर्वाचन प्रणाली फेर्नुपर्छ,’ प्रशिक्षणमा प्रचण्डको भनाइ थियो, ‘यो निर्वाचन प्रणालीमा गरिब, दुखी र सर्वहारा वर्गका नेता कार्यकर्ता कहिले पनि चुनाव जित्न नसक्ने भए । जसको बलबुता छ । जसको पैसा छ । जो नेताको वरिपरि घुम्छ, उसले टिकट पाउने जित्ने दिन भोलिका दिनमा नआओस् ।’यो निर्वाचन प्रणालीबाट अन्य दल पनि वाक्क दिक्क भइसकेको प्रचण्डको भनाइ थियो ।
उनको भनाइ छ, ‘यो निर्वाचन प्रणालीले वाक्क दिक्क भएको महसुस अरु दलले पनि गरेका छन् । हामीले पनि गरेका छौं ।’
कार्यक्रममा प्रचण्डले माओवादी पहिलेको भन्दा ठूलो शक्ति बन्ने हिसाबले चुनावको तयारी गरिरहेको बताएका थिए ।