३१ जेष्ठ,काठमाण्डौ । ’कुमारी आमा’ अर्थात निहारिका राजपुत आफ्ना विभिन्न मागहरु राखेर आमरण अनसनमा बसेको आज मंगलबार पाँच दिन पुगेको छ ।
उनका मागहरुका विषयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले चासो लिएका छन् ।
समस्या समाधानका लागि आफूले मन्त्रालयका सचिव र राष्ट्रिय महिला आयोगसँग आन्तरिक छलफल गरिरहेको रेग्मीले बताएकी छिन ।
सरोकारवालाहरूले मन्त्रालयमा ध्यानाकर्षण नगराउँदा यो विषयमा ढिला जानकारी प्राप्त भएको उनको भनाइ थियो ।
‘उहाँका मान्छेहरु मन्त्रालयमा आजसम्म कोही पनि ध्यानाकषर्ण गराउन आउनु भएको छैन’, उनले भनिन्, ‘तर पनि सडकमा एक किशोरी नाबालक बच्चासहित अलपत्र पर्दा मन्त्रालय मूकदर्शक बनेर बस्दैन । मन्त्रालयले उनको दायित्व लिन्छ ।’
उनले सकेसम्म आज नै छलफलबाट कुनै निष्कर्ष निकाल्ने निकाल्न प्रयास गरिने बताइन् ।
‘क्याबिनेट छाडेर म आजै यो घटनामा निष्कर्ष निकाल्ने तयारीमा छु’ उनले भनिन्, ‘निहारिका मागहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर छलफलमार्फत निकास निकाल्ने प्रयास जारी रहेको छ ।’
उनले समस्याको समाधान गर्न सकिने भएकाले मन्त्रालयलाई समयमै ध्यानाकर्षण गराउन पनि सरोकारवालालाई अनुरोध गरेकी छन् ।
बच्चाको बावुको डिएनए टेस्ट गर्नुपर्ने तथा धनुषा जिल्ला अदालतले पीडकलाई साथ दिएको भन्दै विभिन्न मागसहित निहारिका बसन्तपुर डबलीमा आमरण अनसनमा छिन् ।
२१ महिनाको शिशुसहित उनी अनसनमा बसेकी हुन् भने चौथो दिनमा बेहोस् भएपछि उनलाइ अस्पताल भर्ना गरिएको थियो ।