१७ असार,विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले ओलम्पिक, एसियन र साफ गेममा सहभागि खेलाडीलाइ सम्मान गर्ने भएको छ । बोर्डले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असार १९ गते विराटनगरमा खेलाडीहरुलाई सम्मान गर्ने जानकारी दिएको हो । सो अवसरमा प्रदेश १ बाट हालसम्म अन्तर्राष्ट्रियस्तरको स्पर्धामा सहभागि खेलाडीको बृहत भेलाको आयोजना गर्न लागिएको सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिएका छन् ।
प्रदेश १ बाट हालसम्म ओलम्पिक खेलमा ९ जना, एसियन खेलमा ३६ जना र साफमा १५० जना खेलाडी सहभागि भएको सदस्य सचिव वाग्लेले बताए । खेलाडी सम्मान कार्यक्रममा खेलाडीको पाँचवर्षसम्म निःशुल्क उपचार सेवाका लागि सम्झौता समेत गरिने प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिनाजंग कार्कीले बताइन् ।
सोही दिन नोबेल र काठमाण्डौ मेडिकल कलेज एण्ड टिचिङ अस्पतालसँग खेलाडीको आगामी पाँचवर्षसम्म उपचार हुने गरि सम्झौता गरिने कार्कीले जानकारी दिइन् । बोर्डले प्रदेश १ को खेलकुदलाई व्यापक बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको जनाएको छ ।