सीसीटीभी फुटेजको विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुनुपर्छः प्रदीप ज्ञवाली

सीसीटीभी फुटेजको विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुनुपर्छः प्रदीप ज्ञवाली

२ साउन, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले दबाब, प्रभाव र स्वार्थमा नपरि छानबिन गर्ने बताएका छन् ।

काठमाण्डौमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले छानबिनका क्रममा यो घटनालाई तोडमोड गर्न नदिने पनि दाबी गरे ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करको दर हेरफेर गरेको र सीसीटीभी फुटेज मेटाएको भन्ने विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुने उनको भनाइ छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुभएको थियो । यस्तै, एमाले नेता ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको आरोप लगाएका छन् ।

उनले कालो धनलाई सेतो बनाउनकै लागि अहिले गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाउने काम भइरहेको दाबी गरेका हुने ।

ज्ञवालीले आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर देश गइरहेको पनि दाबी गरे । उनले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम नागरिकको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुईथरी तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए ।

सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको समेत आरोप लगाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.