२७ साउन,काठमाण्डौ ।
न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आफैँलाई जलाउन खोजेपछि प्रहरीले रोकेर अस्पताल लगेको छ ।
अनशनमा बसेको व्यक्ति राष्ट्रपति भवन शीतल निवास अगाडि निषेधित क्षेत्रमा पुगेपछि रोकेर उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।
शीतल निवास अगाडि पुगेकी निहारिकाले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाउन खोज्दा प्रहरीले रोकेर पक्राउ गरेको थियो । पक्राउ गरेको नभइ निषेधित क्षेत्र तोड्न खोज्ने व्यक्तिलाई रोकेर अस्पताल लगेको प्रवक्ता मैनालीले बताए।
निहारिकाले गएको २० गतेदेखि आमरण अनशन सुरु गरेकी हुन। वसन्तपुर डबलीमा अनशन बसिरहेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको प्रयास गरेको उनका सहयोगीहरूले बताएका छन् ।
जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उहाँले बच्चाको डीएनए टेस्ट म्याच गराउन र आरोपितलाई पक्राउ गर्न माग राखेकी छन ।
यसअघि आरोपितलाई जिल्ला अदालत धनुषाले उनीहरूबीच सहमतिमै सम्बन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गर्नुभएकोमा त्यो मुद्दाको पेसी सरेको सर्यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गरेकी छिन ।
यसअघि गएको जेठमा पनि निहारिका आमरण अनशन बस्नुभएकोमा सरकारी पक्षसँग पाँच बुँदे सहमति पछि अनशन तोड्नुभएको थियो । तर आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको निहारिकाको गुनासो छ ।