वीपीमा उपचार अब महँगो, कर्मचारीको सुविधा कटौती

२ भदौ, धरान ।
सर्व साधारणको उपचारको केन्द्र बनेको प्रदेश १ कै ठूलो र सुविधा सम्पन्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक रुपले टाट पल्टिने अवस्थामा पुगेको छ । वीपी प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार डा. सूर्य प्रसाद संग्रौलाका अनुसार प्रतिष्ठानको आर्थिक अवस्था ऋणात्मक हुँदै गइरहेको छ ।

वीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जथाभावी खरिद गर्दा र प्रतिष्ठानलाई चलाउन नसक्दा पूर्व कै प्रतिष्ठित संस्था वीपी टाट पल्टिने अवस्थामा पुगेको हो । वीपी प्रतिष्ठान आर्थिक रुपले जरजर भएपछि चिकित्सक, शिक्षक, कर्मचारी विद्यार्थीले पाउँदै आएका सुविधा कटौती गरिएको छ भने उपचार सेवा महँगो बनाइएको छ ।

रजिष्ट्रार डा. सूर्य प्रसाद संग्रौलाले प्रतिष्ठानको हालको आर्थिक अवस्थालाई मध्यनजरगरी अस्पताल सञ्चालन, नियमित परीक्षाका कार्यक्रम, चिकित्सक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको नियमित तलब भत्तालगायतका अत्यावश्यक कार्य बाहेक अन्य शीर्षकमा खर्च गर्न अर्को व्यवस्था नहुन्जेलसम्मका लागि साउन २५ को निर्णय अनुसार स्थगन गरिएको जानकारी गराएका छन् ।

Advertisement

‘प्रतिष्ठानले सोधभर्ना प्राप्त हुनुपर्ने संस्थाबाट तोकिएको समयमा सोधभर्ना प्राप्त नहुने, प्रतिष्ठानको विभिन्न शैक्षिक कार्यक्रमहरूबाट भइरहेको आयको व्यापक कटौती हुन गएको अवस्थामा कोभिड–१९ भाइरसको प्रकोप निरुपण भइसकेको कारण अस्पतालको आम्दानी समेत प्रभावित भई प्रतिष्ठान विषम आर्थिक अभावको चरणबाट गुज्रिरहेको’, परिपत्रमा भनिएको छ ।

यसैबीच नवनियुक्त रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलाले श्वेत पत्र जारी गरेका छन् । रजिष्ट्रार संग्रौलाले कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको जनाएका छन् । प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको श्वेत पत्रमा उल्लेख छ ।

Advertisement

यसैकारणले प्रतिष्ठानका बिशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भई पलायन हुने अवस्था सृर्जना भएको पनि रजिष्ट्रार संगौलाले उल्लेख गरेका छन् । प्रतिष्ठानको पछिल्लो ४ आर्थिक बर्षको आयव्यय पनि उनले सार्वजनिक गरेका छन् । प्रतिष्ठानका अनुसार विगत २ बर्षदेखि आम्दानी १ अर्बभन्दा बढीले घटेको छ ।

रजिष्ट्रार संग्रौलाले प्रतिष्ठानको वर्तमान अवस्था जटिल र चुनौतीपुर्ण बन्दै गइरहेकोले माथि उठ्न केही समय लाग्ने जनाएका छन् । शिक्षक कर्मचारीहरुले इमान्दारितापुर्वक पारदर्शिताका साथ काम गर्न आवश्यक भएको रजिष्ट्रार संगौलाले औल्याएका छन् भने राजनीतिक दल, समाज, स्थानीय, प्रदेश र संघीय सरकार सबैबाट सकरात्मक सोच राखेर सहयोग गर्न पनि आग्रह गरेका छन् ।

यता प्रतिष्ठान कै कर्मचारीहरुले भने निजी अस्पताल सरह अस्पताल शुल्क बढाउन नियोजित रूपमा किर्ते उपकुलपति र रजिष्ट्रारको योजनामा वीपी टाट पल्टिन लागेको सूचना जारी गरिएको बताएका छन् ।बिहीबार प्रतिष्ठानले ल्याब परीक्षण, अपरेशन चार्ज अन्य सेवा शुल्क बढाएर नयाँ सेवा शुल्कको सूची सार्वजनिक गरेको छ ।

वीपी धरासायी भएपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले भने यसको स्वामित्व स्थानीय सरकारलाई सुम्पिन केन्द्र सरकारसँग माग गरेका छन् । उनले लेखेका छन् , स्वास्थ्य मन्त्री सङ्गको भेटमा “बि.पि. अस्पताल केन्द्र सरकारले चलाउन सक्दैन भने स्थानीय सरकारलाई सुम्पिदिनु हामी चलाउँछौँ “ भनेको छु ! छिटो निर्णय होस् !

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top