भदौ ६ः बलिउडकी अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । ‘पासवर्ड’ नामक नेपाली चलचित्रमा सन्नी फाइनल भएकी हुन् ।
बलिउड र नेपाली चलचित्रको सहकार्यमा बन्न लागेको चलचित्रको सम्पूर्ण छायाङ्कन भने लन्डनमा हुने भएको छ । यो चलचित्रमा सन्नीको साथमा नेपाली कलाकार अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रवीण खतिवडा लगायतका कलाकारहरू देखिने भएका छन् ।
यस बारेमा अभिनेता अनुप विक्रम शाही भन्छन् ‘यो चलचित्रको लागी साइन भइसकेको छ । चलचित्रमा सन्नीको अहम भूमिका रहेको छ । उनको एक आइटम गीत पनि छ । तर कस्तो भूमिका हो खुलाउन मिल्दैन । ’
उनका अनुसार चलचित्र छायाङ्कनको लागी यो टिम केही दिनमै लडण्न उड्दैछ । हिराल जोशी र अमित बस्नेतले संयुत्तरुपमा निर्माण गर्ने चलचित्रको निर्देशन सम्राट बस्नेतले गर्दैछन् ।