१४ भदौ , काठमाण्डौ ।
नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा अहिले एउटा भिडियो शेयर भइरहेको छ ।तर धेरैले यो भिडियोको सत्यतामाथि प्रश्न उठाईरहेका छन् । यही भिडियोलाई लिएर एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले उजुरी दिने तयारी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै बस्नेतले न्यायको खोजी गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । केही दिन अघि मात्रै वस्नेत काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि राखेको अभिब्यक्तिका कारण विवादमा परेका थिए ।
मेयर साहको अवैध संरचनामा डोजर लगाउने अभियानप्रति असन्तुष्टि जनाउदै वस्नेतले उनलाई काज सरुवा गरेर आफ्नो घरको नक्सा हेर्न आउन चुनौती दिएका थिए । बालेनविरुद्ध देखिएका बस्नेत बालेनका समर्थकमाझ आलोचित भईरहेको समयमा अहिले उनी लखेटिएको भनिएको भिडियो सार्वजनिक भएको छ ।
माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उजुरी दिने तयारी भएको बस्नेतको सचिवालयले जनाएको छ । भिडियोमा देखिएको तनाव भने गएको स्थानीय चुनावको हो ।
माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । त्यही भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट खेदिएको भनिएको छ ।