३० भदौ,काठमाण्डौ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा माओवादी कै कारण गणतन्त्र आएको बताएका छन् । उनले माओवादी नभएको भए गणतन्त्र नै नआउने भन्दै माओवादीले पटक पटक देशलाई ठूलो दुर्घटनाबाट जोगाएको पनि बताएका छन् ।
बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनै पनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गरे ।
“माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन सकेन भने कुनै पनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्छ,” उनले भने, “मैले के देख्छु भने यो पार्टी फेरि एकपटक राम्रो रिभाइभ हुने पूरै सम्भावना छ ।” उनले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरे ।
प्रचण्डले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बताएका छन् । स्थानीय तहको निर्वाचनबाट देशबासीले देशको राजनीति कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताउँदै उनले माओवादी नेता, कार्यकर्ताहरुले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मिहेनत नगरेको पनि बताए ।
“अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्,” प्रचण्डले भने, “देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको भन्ने कुरा प्रष्ट देखिएको छ ।” प्रचण्डले पार्टीभित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आगामी निर्वाचनमा माओवादी केन्द्र नै पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरे ।
पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने बताउँदै उनले स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले पार्टी अघि बढ्ने बताए ।
माओवादी केन्द्रलाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताउँदै प्रचण्डले पार्टी भित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा पार्टी लाग्नुपर्ने आवश्यक्ता रहेको औँल्याए । समाजवादको लागि कम्युनिष्टहरुबीचमा एकताको आवश्यक रहेको भन्दै उनले व्यावहारिक संघर्षलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको उल्लेख गरे । प्रचण्डले माओवादी तेस्रो दल रहेपनि निर्णायक रहेको दाबी गरेका छन् ।