३१ भदौ, काठमाण्डौ ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फुटपाथ व्यापारीको व्यवस्थापन गर्न सुझाव दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जवाफ फर्काएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमा स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्न सुझाव दिएका थिए । आज एक ट्विट गर्दै उनले मृत प्राय बनेका नदीलाई पुनर्जीवन दिने मेयर बालेन साहको पहल प्रशंसनीय रहेको बताएका छन् ।
यसका साथै फुटपाथ पनि व्यवस्थित गर्न उनले ध्यानाकर्षण गराएका हुन् । उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन साहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ र समय तोकेर तीनको व्यवस्थापन गर्नैपर्छ ।’
भट्टराईको पोस्टमा जवाफ दिँदै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पथ्र्यो नि ।’ बालेनको जवाफमा मिश्रित प्रतिक्रिया आइरहेको छ । केहीले बालेन पनि हर्क साम्पाङ जस्तै बन्न खोजेको आरोप लगाएका छन् ।
नेपाल स्वरोजगार व्यापार श्रमिक संघले हिजो बिहव्बार मात्रै काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् । व्यवसायीले सडकमा व्यापार व्यवसाय गरेर आफैँ स्वरोजगार भएका नागरिकलाई सम्मान गर्नुपर्ने अवस्थामा महानगरले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
स्थानीय सरकार सबै जनताको अभिभावक भएपनि सरकार लुटेरा जस्तो भएको आरोप लगाएका छन् । गएको भदौ ६ गतेदेखि काठमाडौंका अवैध संचना भत्काउने र फुटपाथ खाली गर्ने बालेनको अभियान जारी छ। अहिलेसम्म बालेनले ३९ स्थानभन्दा बढीमा डोजर चलाएर अनधिकृत संरचना भत्काएका छन् भने धेरैस्थानको फुटपाथ खाली गराईसकेका छन् । तत्कालीन समयमा भट्टराई प्रधानमन्त्री हुँदा समेत उनले काठमाडौंका सडक फराकिलो बनाउन दजर्नाै घर भत्काएका थिए ।