३१ भदौ,काठमाण्डौ ।
नेपालको सबैभन्दा बुढो पार्टी नेपाली कांग्रेस अन्य दलजस्तै यतिबेला उम्मेदवार छान्ने रस्साकस्सीमा छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ उम्मेदवारहरूको बन्द सूची बुझाउन २ र ३ असोजको मिति तोकेको अवस्थामा काग्रेसलाई भ्याईनभ्याई रहेको छ । तर यतिनै बेला कांग्रेसको भविष्य ठानिएका कांग्रेसका दुई काँध बनेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विरामी भएर थलापरेका छन् ।
सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारी बैठकसमेत बसिरहेको छ । समानुपातिक उम्मेदवारहरूको बन्द सूची बुझाउने दिन नजिकिँदै जाँदा महामन्त्री द्वय थापा र शर्मा भने बिरामी परेका छन् । शर्माको केही दिनअघि अप्रेसन भएको थियो । अस्पतालबाट डिस्चार्ज भएका उनी अहिले घरमै आराम गरिरहेका छन् । महामन्त्री शर्माले आइतबारदेखि पार्टी कार्यालय गएर आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् ।यतिनै बेला अर्का महामन्त्री थापा भने बिहीबारदेखि बेड रेस्टमा छन् ।
डेंगुका कारण ज्वरो आएपछि अहिले उनी घरमै छन् । बिहीबार उनको रगत परीक्षण गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि थापा घरमै आराम गरिरहेका छन् । थापाका सहयोगी सविनराज मुढभरीका अनुसार थापालाई थप चार÷पाँच दिन आराम गर्नुपर्ने हुनसक्ने चिकित्सकले बताएका छन् ।पार्टीका दुवै महामन्त्री बिरामी भएपछि कांग्रेसले ६ जना सह महामन्त्रीलाई समानुपातिक तर्फको बन्द सूची तयार पार्न जिम्मेवारी दिएको छ ।
सत्तारूढ दल नेपाली कांग्रेसमा टिकट वितरणका लागि संसदीय समिति गठन गर्नुपर्ने विधानमा व्यवस्था छ । संसदीय समितिले स्थानीय, प्रदेश तथा प्रतिनिधि तथा राष्ट्रिय सभाको टिकट वितरण गर्छ । संसदीय समितिमा पार्टी सभापतिनै प्रमुख हुन्छन् भने महामन्त्रीहरू केन्द्रीय संसदीय समितिको महामन्त्री र अन्य पदाधीकारीहरू समितिको पदेन सदस्य हुन्छन् । गएको माघ १२ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा उमेदवार छनोट कार्य कांग्रेसले कार्यसम्पादन समितिको माध्यमबाट गरेको थियो ।
विधान अनुसार संसदीय समितिले उमेदवारको टुंगो लगाउनुपर्ने हुन्थ्यो । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिध सभाको निर्वाचन आउन ६५ दिन बाँकी छ । कांग्रेस पार्टीभित्र नेता व्यवस्थापनमा भन्दा गठबन्धनभित्रै अलमलिएको छ । पार्टीले गठबन्धनबाट कति सिट पाउँछ निश्चित छैन । बिहीबारबाट भने दल समानुपातिकतर्फ सूचीलाई अन्तिम रूप दिन छलफलमा जुटेको छ । कांग्रेसभित्र अहिले संसदीय समितिलाई टिकट वितरण गरेर टिकट बाँडफाँट गर्छ कि १४ सदस्यीय समिलिते बाँडफाँट गर्छ भन्ने चर्चा छ ।
संस्थापनइतरका नेताहरू समितिले पूर्णता पाउने सम्भावना देख्दैनन् । पार्टी प्रवक्ता प्रकाशशरण महत संसदीय वोर्डलाई पूर्णता दिने अथवा नदिने अधिकार सभापति देउवामा निहित भएको बताउँछन् । समितिले पूर्णता नपाए पनि संसदीय समितिको बैठकमा इतर समूहका नेता डा. शेखर कोइरालालगायत शीर्ष नेताहरूको सहभागिता रहेको उनले जानकारी दिएका छन् । महतका अनुसार अहिले पदाधीकारी र पूर्व पदाधीकारीहरूको बैठकले टिकट वितरणलाई टुंगो लगाउने तयारी गरेको छ ।