१ असोज,काठमाण्डौ ।
महाअभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ । शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्वित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिएका बयानमा हस्ताक्षर गरिसकेकोले आज नै समितिको दोस्रो बैठक बसेर संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका सांसद एवं महाअभियोग सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताए । उनले आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गरेको र समिति सदस्यहरुको प्रतिप्रश्नको समेत जवाफ दिएको बताए ।
समितिको बैठकपछि सञ्चारर्कीहरुसँग कुरा गर्दै समितिका सभापति रामबहादुर बिष्टले समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने बताए । उनले भने, ‘मस्यौदा तयार गरेर बाँडिएको छ, ३ बजेको बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरेर अन्तिम रुप लिएर अघि बढ्छौँ । आजै प्रतिवेदन सभामुखलाई बुझाउँछौँ ।’समितिको दोस्रो बैठक आज नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।