३ असोज, काठमाण्डौ ।
नेपालमा पछिल्ला साताहरुमा लामखुटेबाट सर्ने डेंगीको संक्रमण झनै बढेको छ । स्वास्थ मन्त्रालय तथा स्थानीय तहहरुले डेंगी रोकथामबारे विभिन्न सचेतनामुलक लगायतका कार्यक्रम गरिरहे पनि डेंगी संक्रमण कम भएको छैन । देशभर डेंगु संक्रमितको संख्या १६ हजार पाँच सय ८७ पुगेको छ ।
गत साउन यता मात्र १३ हजार ९ जनामा डेंगु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै डेंगुका कारण हालसम्म २० जनाको मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आइतबारसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा डेंगु देखिएको छ । हालसम्म ललितपुरमा संक्रमितको संख्या चार हजार ६ सय सात पुगेको छ भने काठमाडौंमा चार हजार चार सय ५४ जनालाई डेंगु संक्रमण भएको छ ।
सबैभन्दा बढी संक्रमित हुने अन्य जिल्लामध्ये मकवानुपरमा एक हजार पाँच सय ९७, दाङमा नौ सय ९४, रुपन्देहीमा ६ सय ५९ र भक्तपुरमा १३ जनामा डेंगु देखिएको छ । महाशाखाका अनुसार मुस्ताङ र जुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण भइसकेको छ । अझ सहरी इलाकामा यसको संक्रमण तीव्र छ ।
महाशाखाको तथ्यांकअनुसार बागमती प्रदेशमा १२ हजार चार सय एक, लुम्बिनीमा दुई हजार चार सय २२, प्रदेश १ मा पाँच सय चार, मधेस प्रदेशमा दुई सय ८२, गण्डकीमा तीन सय २२, सुदूरपश्चिममा चार सय ९३ र कर्णालीमा दुई सय तीनजना डेंगु संक्रमित भेटिएका छन । डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । जसमा ३ वर्षदेखि ६६ वर्षसम्मका संक्रमितहरु थिए ।