९ असोज, काठमाण्डौ ।
सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशबाट दीपककुमार कार्की विदा हुँदैछन् । झण्डै साढे ७ महिना सर्वोच्चको नेतृत्व गरेका कार्की उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका हुन् । असोज १७ गतेदेखि ६५ वर्षको उमेरहदका कारण उनी विदा हुने भएका हुन् ।
भोलिदेखि अदालतमा दशैं बिदा सुरू हुने भएकाले आजै कामु कार्कीलाई सर्वोच्च अदालतले औपचारिक विदाइ गरेको छ । कार्कीले अवकासको एक महिना अघिदेखि मुद्दा हेरेका छैनन् । उनले अन्य प्रशासनिक काम मात्र गर्दै आएका थिए । गएको फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कार्कीले सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।
राणा निलम्बनमा परेपछि उनी कायममुकायम प्रधानन्यायाधीश भएका हुन् । जबरामाथि महाअभियोग नलागेको भए उनले यो अवसर पाउने थिएनन् । संविधानले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायममुकायमले प्रधानन्यायाधीशले गर्ने सबै काम गर्नुपर्ने व्यवस्था गरेको छ ।
कार्की २०७३ साल साउनमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । उनले सर्वोच्च अदालतको न्यायाधीशमा ६ वर्ष काम गरे । त्यसअघि उनी तत्कालिन् पुनरावेदन अदालत विराटनगर र दिपायलमा कार्यरत थिए । यस्तै त्यसअघि कामु प्रधानन्यायाधीश कार्कीले पुनरारावेदन अदालत पाटन, र राजविराजमा पनि काम गरेका थिए ।
जिल्ला अदालतको न्यायाधीशमा पनि मकवानपुर, सिरहा, काठमाडौं, धनुषा, मोरङ, डोटी, बर्दिया, सप्तरी, रुकुममा पनि काम गरे । २०३७ सालमा शाखा अधिकृतबाट न्यायसेवा प्रवेश गरेका कार्की २०३९ सालमा जिल्ला न्यायाधीश भएर २३ वर्षसम्म उनले विभिन्न अदालतमा काम गरे । दीपक कार्कीको बिदाइसँगै सर्वोच्च अदालतको नेतृत्व हरिकृष्ण कार्कीले गर्ने भएका छन् । उनी वरिष्ठतम न्यायाधीश हुन ।
कार्की आगामी मंसिर २७ गतेदेखि मात्रै प्रधानन्यायाधीश बन्ने छन् । त्यसअघि उनीपनि कामु नै रहने छन् । २०१५ भदौ २५ गते जन्मिएका कार्कीले झण्डै एक वर्ष सर्वोच्चको नेतृत्व गर्ने छन् । हरिकृष्ण २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। त्यसअघि २०६८ साल असोजमा केपी ओली प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता थिए । अन्य अदालतमा काम गरेको भने उनीसँग अनुभव छैन् ।
उनले सर्वोच्च अदालतमा वकालत पनि गरेका छन् । प्रधानन्यायाधीश राणालाई संसदीय सुनुवाई समितिले महाअभियोग लगाउन सिफारिस गरे पनि संसदले पास गरिसकेको छैन् । त्यसैले कामयममुकायम प्रधानन्यायाधीश भएर कार्कीले अब २ महिना चलाउनेछन् । मंसीर २७ मा राणाको ६५ वर्षे उमेरहद सकिएर अवकास पाउनेछन् । त्यसपछि भने बल्ल सर्वोच्च अदालतले प्रधानन्यायाधीश पाउने छ ।