१५असोज,काठमाण्डौ ।
मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाडौं क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्ने भएका छन् ।यसअघि प्राधिकरणको कार्यकारी निर्देशक भएपछि लोकप्रिय बनेका घिसिङलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनाउन प्रस्ताव गरेको थियो ।
तर घिसिङले भने स्वतन्त्र उम्मेदवार बन्ने इच्छा राखे ब्यक्त गरे । उनको इच्छाअनुसार नै सत्ता गठबन्धनले उनलाई साझा उमेद्वार बनाउने भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा घिसिङ गठबन्धनको साझा उम्मेदवार बन्न लागेको बुझिएको छ ।
काँग्रेस र माओवादीको समर्थनमा उनी स्वतन्त्र चुनाव चिह्न लिएर चुनावमा जान लागेको बुझिएको छ । घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ अन्तर्गत बौद्धका बासिन्दा हुन् । यो क्षेत्रमा घिसिङको गृहजिल्ला रामेछाप र काभ्रेबाट आएका मानिसको बाक्लो बसोबास छ ।
अहिले काठमाडौं ३ कांग्रेस र काठमाडौं २ माओवादीले लिनेगरी गठबन्धनको बैठकमा छलफल भए पनि घिसिङले स्वतन्त्र रुपमा ३ मा जान चाहेको अवस्थामा सहमति बन्न सक्ने गठबन्धनका नेताहरुको भनाइ छ । घिसिङले भने प्राधिकरण छाडेर उम्मेदवार बन्ने कि नबन्ने भन्ने निर्णय सार्वजनिक गरिसकेका छैनन् ।
सकेसम्म निर्वाचन जित्ने माहोल बनेको अवस्थामा मात्र उनी खुलेर लाग्न सक्ने बुझिएको छ । विद्युत प्राधिकरणको नेतृत्वमा आएर लोडसेडिङ हटाएको जस लिएका उनी आफ्नो लोकप्रिय छवि गुमाउने पक्षमा छैनन् । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएका बेला विद्युत प्राधिकरणमा आएका घिसिङको कार्यकाल केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सकिएको थियो ।
घिसिङलाई नै प्राधिकरणको नेतृत्वमा दोहो¥याउन तीब्र दबाब भए पनि ओली नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई नेतृत्व दिने निर्णय गरेको थियो । ओली नेतृत्वको सरकार सर्वोच्च अदालतले अपदस्त गरेपछि देउवा नेतृत्वको सरकाले उनलाई प्राधिकरणमा ल्याएपछि हालसम्म उनी कार्यरत रहेका छन् । निर्वाचनगमा उम्मेदवार बनेमा उनले प्राधिकरणको जिम्मेवारीबाट राजीनामा दिनु पर्ने हुन्छ ।