२५ असोज, एजेन्सी ।
टेस्लाका कार्यकारी प्रमुख तथा विश्वकै सबैभन्दा धनी व्यक्ति इलोन मस्क ताइवानलाई लिएर अमेरिकालाई चिढ्याउने अभिब्यक्ति दिएपछि फेरि एक पटक विवादमा तानिएका छन् । ताइवानलाई हङकङजस्तै चीनको विशेष प्रशासनिक क्षेत्र बन्नुपर्ने बताएपछि उनी विवादमा तानिएका हुन् ।
फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा मस्कले बेइजिङ र ताइपेइका सरकारले यथोचित बन्दोबस्त गर्नुपर्ने बताएका थिए । ‘मेरो सिफारिस के हुन्छ भने ताइवानका लागि एउटा यथोचित विशेष प्रशासनिक क्षेत्र बनाउनुपर्छ । सायद त्यसले सबैलाई खुसी भने तुल्याउने छैन,’ मस्कले शुक्रबार टाइम्समा प्रकाशित विस्तृत अन्तर्वार्तामा भनेका छन्, ‘मलाई लाग्छ, सम्भवतः त्यस्तो व्यवस्था हङकङको भन्दा उदार हुनसक्छ ।
’शनिबार अमेरिकाका लागि चिनियाँ राजदूत चिन काङले ट्विटरमार्फत मस्कको सुझावको स्वागत गरे । उनले शान्तिपूर्ण पुनर्एकीकरणपछि ताइवानले विशेष प्रशासनिक क्षेत्रका रुपमा उच्च तहको स्वशासन प्राप्त गर्ने बताए । तर, अमेरिकाका लागि ताइवानी प्रतिनिधि स्याओ बिखिमले ट्विटरमा भने, ‘ताइवान थुप्रै उत्पादन बेच्छ । तर, स्वतन्त्रता र लोकतन्त्र बिक्रीमा छैन ।
कतिपय पश्चिमा टिप्पणीकर्ताहरुले मस्कको कडा आलोचना गरेका छन् । सेप्टेम्बर महिनामा मात्र टेस्लाले ८३ हजार १३५ चीनमा निर्मित विद्युतीय वाहन बिक्री गरेको छ । सांघाइस्थित टेस्लाको कारखानाले उत्पादन वृद्धिको प्रयास गरिरहेको छ । मस्कको बयानपछि अमेरिकाका तर्फबाट भने कुनै औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक भएको छैन् । दक्षिण अफ्रिकामा जन्मिएका मस्क अहिले मुलत अमेरिकामा व्यवसायसँगै बसोबास गरिरहेका छन् ।