१३ कात्तिक, एजेन्सी ।
दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको क्रममा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो दुर्घटनामा परि ८२ भन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बताइएको छ । राजधानी सोलको एक नाइट स्पटमा ठूलो संख्यामा हलोविन पर्व मनाउनका लागि मानिसहरू जम्मा भएका थिए ।
कोभिड–१९ महामारीपछिको यो नै पहिलो हलोविन भएकाले पनि धेरै मानिसहरू जम्मा भएको बताइएको छ । रिपोर्टका अनुसार यहाँ करिब १ लाख मानिस भेला भएका थिए । त्यही भिडमा एकजना व्यक्ति लडेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
मृत्यु भएका अधिकांश किशोर÷किशोरी भएको अधिकारीले बताएका छन् । भागाभाग हुन थालेपछि प्रहरीलाई समेत उक्त भागदौड रोक्न मुस्किल परेको थियो । घाइतेहरूको उपचार अस्पतालमा भइरहेको छ । भागदौडका कारण सयौंलाई हृदयघात भएको बताइएको छ ।
घटनाको कारण भने अझै खुलि नसकेको समाचार एजेन्सी योनहेपले जनाएको छ । तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । दुर्घटनापछि कोरियाका राष्ट्रपति युन सुक–योलले इतेवन क्षेत्रमा तुरुन्त उद्धार टोली खटाउन निर्देशन दिएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भीडमा भाग्न खोज्दा धेरै मानिस सडकमा लडेको देखिएको छ । उनीहरूलाई हाल सीपीआरको माध्यमद्वारा उपचार गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले बताएका छन् ।
भागदौडका कारण भीडमा सास फेर्नसमेत गाह्रो भएको उक्त ¥यालीमा सहभागीहरुले स्थानीय संचारमाध्यमहरुलाई बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन‚ बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले उक्त दुर्घटनाप्रति चिन्ता व्यक्ति गर्दै समवेदना प्रकट गरेका छन् ।