१५ कात्तिक, काडमाण्डौ ।
आसन्न मंसिर ४ को निर्वाचन नजिकिरिहेका बेला विगतमा भूमिगत रहेर शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा गरेको हो । पार्टीको हालै सम्पन्न नवौं महाधिवेशनका निर्णय मंगलबार सार्वजनिक गर्दै नेकपाले चुनाव खारेजी अभियान चलाउने जानकारी दिएको हो ।
पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगर ‘सी’ले संसदीय व्यवस्थाको चुनाव खारेज अभियान चलाउन जनसांस्कृतिक कार्यक्रम गर्ने निर्णय भएको बताए । चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको पनि उनले जानकारी दिए ।
देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ । यसबाहेक जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ । वैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
यस्तै, नेकपाले आफ्नो नामको पछाडी सी राख्न थालेको छ । यस्तै, हरेक दुई महिनामा एक पटक भौतिक श्रम गर्ने भएको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड‘सी’ ले संसदीय व्यवस्थाले जनताको आवाज नबोलेको बताए ।
उनले श्रमजीवी जनताले विश्वबाट साम्राज्यवादको अन्त्य चाहेको बताए । यसअघि बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने विप्लव नेकपाले केही स्थानीय तहमा सहभागिता जनाएको थियो । विप्लव समूहले चुनावमा जाने निर्णय गरेपछि विप्लव नेकपा विभाजन भएको थियो ।