१७ कात्तिक, काठमाण्डौ ।
निर्वाचन जित्न चुनौती हुने देखिएपछि अन्तिम समयमा सुरक्षित क्षेत्र खोज्दै चितवनबाट गोरखा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला मतदाता रिझ्याउने प्रयासमा ब्यस्त छन् ।
यसका लागि उनी कहिले विगतमा पृथ्वीनारायण शाहको शाालिक भत्काउनु आफूहरुको ठूलो गल्ती थियो भनिरहेका छन् भने कहिले गोरखासंग आफ्नो आत्मिय सम्बन्ध रहेको बताईरहेका छन् । आफूलाई जिताएर गोरखाले विश्वभरि माओवादीलाई चिनाइदिन उनले मतदातालाई आग्रह गरिरहेका छन् ।
यसैक्रममा उनले जनयुद्धकालमा पीडित भएका कांग्रेस कार्यकर्ताको घाउमा आफूले मलम लगाउने पनि बताएका छन् । माओवादी सशस्त्र युद्धका कमाण्डर प्रचण्डले द्वन्दका बेला माओवादीबाट पीडित परिवारलाई आफूले भेट्न चाहेको पनि बताएका छन् ।
आज काठमाडौंमा आयोजित गोर्खालीहरूको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा माओवादीको तर्फबाट पीडामा परेका तथा क्षति भोगेका परिवारलाई भेटेर मल्हमपट्टी लगाउन चाहेको बताएका हुन् । कांग्रेस नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले सुरेन्द्र पाण्डेजी, राजेन्द्र बजगाईँ र कमला पन्तसँग पनि भनेको छु ।
माओवादी आन्दोलनका क्रममा पीडामा परेका कांग्रेसका परिवार, क्षति भोगेका र ठूलो पीडामा परेकालाई भेटेर मल्हमपट्टी लगाउन चाहन्छु । ती परिवारलाई भेटेर शान्ति प्रक्रियाको महत्व बुझाउनेछु र गिरिजाबाबुसमेतको भावनालाई कदर गर्दै म उहाँहरूसँग कुरा गर्छु ।
अध्यक्ष प्रचण्डले ती पीडित परिवारलाई भेट्ने वातावरण बनाइदिन आफूले कांग्रेस नेताहरूलाई आग्रह गरेको बताए । गोरखामा कांग्रेस कार्यकर्ताको हत्या गरेर सुरू भएको माओवादी जनयुद्धका क्रममा धेरै कांग्रेस कार्यकर्ता पीडित भएकाले प्रचण्डले उनीहरूको सहानुभूति लिन खोजेका हुन् ।
यस्तै उनले शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्तामध्ये एक गिरिजाप्रसाद कोइराला नभएको अवस्थामा कांग्रेसजनले प्रचण्डको महत्व बुझ्नुपर्ने बताएका छन् । प्रचण्डले आफूले गिरिजाप्रसादलाई राष्ट्रिय अभिभावकका रूपमा सम्मान गरेको विषयलाई सबैले बुझ्नुपर्ने बताए ।
गोरखा २ बाट उम्मेदवार बनेका प्रचण्डले कांग्रेस कार्यकर्तालाई विगतका तीतामीठा बिर्सेर ऐतिहासिक भूमिका खेल्न आग्रह गरे । यस्तै प्रचण्डले आसन्न निर्वाचनलाई सामान्य रूपमा नलिन पनि आग्रह गरेका छन् । उनले आसन्न निर्वाचन प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताए ।
उनले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरका रूपमा लिएको पनि बताए । सुरुमा पटक पटक चितवन ३ बाट चुनाव लड्ने घोषणा गरेका प्रचण्ड आफू त्या असुरक्षित हुने देखिएपछि अन्तिम समयमा गोरखा २बाट उम्मेदवार बनेका छन् ।
यद्यपि प्रचण्डले आफू सहज र असहज स्थानका आधार चुनाव क्षेत्र रोज्ने नेता नरहेको बताउने गरेका छन् । गोरखामा प्रचण्डको प्रतिस्पर्धीमा रुपमा एकसय वर्षका बृद्धदेखि केही स्वतन्त्रसहित २९ वर्षका दलीय उम्मेदवार प्रतिस्पर्धी रहेका छन् । प्रचण्डको प्रतिस्पर्धा मुख्यगरी एमालेबाट उम्मेदवार बनेका २९ वर्षीय युवा अब्दुस मियासँग हुने विश्लेषण गरिएको छ ।