समानुपातिक सांसदको नामावली आयोगमा रूजु हुँदै

समानुपातिक सांसदको नामावली आयोगमा रूजु हुँदै

२५ मंसिर, काठमाण्डौ ।
दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ सांसद चयन गरी पठाएको नामावली निर्वाचन आयोगले छानबिन थालेको छ । यसअघि दलहरूले बन्द सूचीमा पेश गरेअनुसार नामावली छ कि छैन भनेर आयोगले रूजु गर्ने भएको हो । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आज र भोलीसम्मको समय दिएको छ।

समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।

ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ । निर्वाचन आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ ।

यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीभित्रैबाट नाम परे÷नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए÷नभएको छानबिन गरिने छ ।

समानुपातिक सिद्धान्त अनुसार भए÷नभएको छानबिन गरी प्रमाणित गर्ने काम सकेर अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिने बताए । प्रतिनिधि सभातर्फ समानुपातिकमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमत पार्टीले ५ सांसदको नाम पठाएका छन् ।

निर्वाचन आयोगका अनुसार २९ मंसिरमा राष्ट्रपतिलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी गरिएको छ । त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.