२५ मंसिर,काठमाण्डौ ।
धर्म प्रचारसँग जोडिएको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सांसदको सूचीमा प्राथमिकता दिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले चर्को आलोचनाको घेरामा परेका छन् । उनको आलोचना पार्टी बाहिर मात्रै होइन पार्टी भित्रैबाट समेत हुन् थालेको छ ।
ओलीको यो निर्णयलाई लिएर दोस्रो र तेस्रो पुस्ताका एमाले नेताहरु समेत सामाजिक सञ्जालमा प्रश्नले घेरिएका छन् । एकनाथलाई समानुपातिक सांसद बनाएपछि सामाजिक सञ्जालमा सक्रिय भइरहने एमाले नेता गोकुल बास्कोटालाई पनि प्रश्नको वर्षा भएको छ ।
तर उनले आफु एमाले र जनताको बहुदलीय जनवादको दृढ समर्थक भएपनि पार्टीको अधिकारी नभएकाले पार्टीको आधिकारिक निर्णयलाई जोडेर नसोध्न आग्रह गरेका छन् । ट्टिरमा उनले लेखेका छन् ’म एमालेको दृढ समर्थक हो र जबजको पनि । तर अधिकारी होइन । तसर्थ एमालेले लिने आधिकारीक निर्णयमा मलाई जोडेर मेन्सन नगर्न सबै ट्वीटे र फेसबुकेलाई आग्रह छ’, उनले भनेका छन्, ’अवश्य नै मेरा पनि मत होलान् । तर म मलाई उपलब्ध संस्थागत ठाउँमै कुरा राख्छु, मौका पाएमा । यो मेरो कमजोरी होइन तर अराजकता मन पराउन्न ।’
उनले लेखेका छन् । उनको यो टिप्पणीपछि एकनाथलाई सांसद बनाएकोबारे कृष्ण अंसुकले ट्विटरमै बास्कोटालाई प्रतिप्रश्न गरेका छन् । ’एमालेले एकनाथ ढकाललाई समानुपातिकतर्फ लैजानु एमालेका आमकर्याकर्ताको उपहास हो । उनी को हुन ?, र किन सांसद बनाइयो ?’, उनले बास्कोटालाई सोधेका छन्, ’यसको चित्तबुझ्दो जवाफ आम एमालेका कार्यकर्ता र मतदान गर्ने नागरिकलाई नेतृत्वले अनिवार्य स्पष्टीकरण दिनुपर्नेछ ।’
त्यसपछि बास्कोटाले एमालेमा एकनाथको योगदान थाहा नभएको बताउँदै आफूले उनलाई नचिनेको जवाफ दिएका छन् । ’एकनाथको योगदान मलाई थहा छैन र म चिन्दिन पनि’, उनले भनेका छन्, ’तर समानुपातिक सिस्टम होइन, नेताहरुको तजबिज रहेछ, त्यो पक्का हो अब था भो ।’ भन्दै बाँस्कोटाले आफ्नै नेतामाथि पनि आक्रोश पोखेका छन् ।
यस्तै अर्को ट्विट गर्दै उनले लेखेका छन्, This time for Africa भनेको त फुटबलमा मात्र हो जस्तो छ । समानुपातिकमा त युरोप नै पर्ने रैछ । म भ्रममा त हैन नि ! गरी खाउ डाडुपन्यु टीम । भुइँंं टेक बाईबाई, हाईटेक हाईहाई । प्रतिनिधिसभाको निर्बाचनमा एमालेले खस आर्यको कोटामा अर्कै दलका अध्यक्ष ढकाललाई समावेश गरेको हो ।
यो दलको सात वटै प्रदेश र सबै जिल्लामा संगठन रहेको छ । ढकाल यसअघि दुई पटक नेपाल परिवार दलबाट संविधानसभाको सदस्य बनेका थिए । सन् २०१८ मा एसिया प्यासिफिक समिटको नाममा काठमाडौंमा धार्मिक सम्मेलन आयोजना भएको थियो, जसको आयोजक थियो ढकालले स्थापना गरेको युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) ।
उक्त सम्मेलन सफल पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष रूपमा सक्रिय थिए । ढकालले सम्मेलन आयोजक समितिको संयोजक नै नेपाललाई बनाएका थिए । तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ‘होली वाइन सम्मेलन’ मा राज्य कोषबाट चार करोड रुपैयाँ खर्चेको थियो ।
सोही सम्मेलनका लागि आएकी दक्षिण कोरियाली धर्मगुरु हाक जा हान मुनले आफूलाई जिसस क्राइसकी छोरी भनेर स्वघोषणा गर्दै प्रधानमन्त्री ओलीलाई एक लाख डलर राशिको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेकी थिइन् ।
ढकाल २०६४ सालमा पहिलो संविधानसभा चुनावअघि नेपाल परिवार दलको नाममा पार्टी खोलेर राजनीतिमा सक्रिय छन् । ढकाल पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शान्ति तथा पुनर्निर्माण मन्त्री समेत भईसकेका छन् ।