१८ पौष, एजेन्सी ।
इन्डियन आयल कर्पोरेसनले इन्धनको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार आईतबार आईओसीले मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ ।
भारतबाट मूल्य बढेर आए पनि नेपालमा भने यथावत् नै रहने निगमले जनाएको छ । अहिले मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले जनाएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ रहेको छ ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ । आईओसीले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए पनि नेपाल आयल निगमलाई मासिक झन्डै दुई अर्ब रुपैयाँ नाफा हुने देखिएको छ ।
भारतले बढाएर पठाएको मूल्यमा पनि आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ र डिजलमा रुपैयाँ नाफा रहेको छ । निगमले अहिले पनि १५ दिनमा ९९ करोड रुपैयाँ नाफा गर्दै आएको र यही अवस्थामा एक महिनामा एक अर्ब ९८ करोड रुपैयाँ नाफा हुने एक अधिकारीले बताएका छन् ।
अहिले पेट्रोल, डिजलमा मनग्य नाफा भए पनि खाना पकाउने एलपी ग्यासमा एक सिलिन्डरमै सात सय रुपैयाँ घाटा भएकाले नाफा बढ्न नसकेको निगमको दाबी छ । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ ।