देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

२२ पौष,काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्दैछन्।प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सभापति देउवाले पार्टीका दुई महामन्त्रीलाई निवासमा बोलाएर छलफल गर्न लागेका हुन्।

यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दाका बेला महामन्त्रीद्वयसँग टेलिफोनमा संवाद गरेका थिए।सभापति देउवाले निवास धुम्बाराहीमा शुक्रबार अपरान्ह साढे ४ बजे छलफलका लागि बोलाएका हुन्।

‘महामन्त्रीद्वयसँग समसामयिक राजनीतिक घटनाक्रम र अब बस्ने केन्द्रीय समितिलगायत विषयमा सभापतिले छलफल गर्न लाग्नुभएको हो। यो औपचारिक छलफल होइन। सभापतिले अनौपचारिक रूपमा पार्टीका उपसभापतिहरू लगायत नेताहरूसँग छलफल गरिरहनुभएको छ, यो छलफल त्यसैको निरन्तरता मात्र हो,’ देउवानिकट एक पदाधिकारीले भने।

बैठकमा संसदीय दलको बैठकका एजेन्डाबारे पनि छलफल हुनेछ। कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक राखेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।सभापति देउवाले गठबन्धनलाई चुनावपछि कायम राख्न नसकेको भन्दै महामन्त्रीद्वय थापा र शर्माले आलोचना गर्दै आएका छन्।

साथै उनीहरूले नीति अधिवेशन बोलाउनसमेत संयुक्त विज्ञप्ति निकालेर माग गरेका थिए।कांग्रेसले पुस २८ गते केन्द्रीय समिति बैठक बोलाएको छ। चुनाव समीक्षालगायत विषयमा उक्त केन्द्रीय समितिमा छलफल हुनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.