एजेन्सी,भदौ १३
१८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ । पदकको आश गरिएको तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एसियाली खेलकुद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो ।
नेपालले कुल ११ हजार ३६४ अंक ल्याउँदै रजत हात पारेको हो भने स्वर्ण पदक जितेको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो ।पाँच चरणमा हुने प्रतिस्पर्धामा बुधबार पाँचौ चरण सकिएको हो । नेपाल पहिलो चरणमा तेस्रो स्थानमा रहेको थियो । दोस्रो चरणमा पनि तेस्रो स्थानमा नै रहेको नेपाल तेस्रो चरणमा चौथो स्थानमा पुगेको थियो ।
मंगलबार भएको चौथो चरणको खेल सकिँदा नेपाली टोली जापानपछि दोस्रो स्थानमा पुगेपछि पदक लगभग पक्का भएको थियो । स्वर्णकै सम्भावना रहेको भए पनि अन्तिम चरणको खेलमा पनि जापानभन्दा पछि रहेपछि नेपालले रजत पदक जितेको हो ।
क्रस कन्टी्र इभेन्टमा खेलिरहेका नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।यसअघि १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।