१५ माघ, काठमाण्डौ ।
डोजर आतंक मच्चाएको भन्दै आफूविरुद्ध प्रदर्शन सुरु भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्रीसंग गुहार मागेका छन् । पछिल्लो समय मेयर शाहका कामकारबाहीलाई लिएर काठमाडौंका बासिन्दाहरूले विरोध गरिरहेका छन् । निजी सम्पत्तिमा महानगरले क्षति पु¥याएको भन्दै आन्दोलनसमेत भइरहेको छ ।
आइतबार पनि महानगरविरुद्ध विरोध प्रदर्शन भएको थियो । मेयर शाहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन् हुनेगरी डोजर आतंक फैल्याउने काम गरेकाले त्यसो हुन नदिनका लागि खवरदारी गर्न आफूहरु प्रर्दशनमा आउनु परेको नागरिक अगुवा सुमन सायमीले बताएका छन् ।
बालेनका योजनामा यसअघि साथ दिदै आएका सायमीले जनताको प्रतिनिधि भएर मेयर शाहले जनताले दुःख दिने काम गरिरहे सैह्य नहुने चेतावनी समेत दिएका छन् । यसरी आफूविरुद्ध विरोध बढ्दै गएपछि मेयर साहले आफू यसअघि असफल भएको सुकुम्बासी बस्तीको समस्या समाधान गर्न प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका छन् ।
उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सोमबार बिहान बालुवाटार पुगेका थिए । भेटमा मेयर शाहले महानगरसँग जोडिएका विविध विषमा छलफल गरेका थिए । मेयर शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार भेटघाटका क्रममा बागमती करिडोरमा रहेको सुकुम्बासी बस्ती हटाउने विषयमा पनि छलफल भएको थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने बताएको शाहले बताएका छन् । यसअघि थापाथलीस्थित बागमती करिडोरमा रहेको सुकुम्बासी बस्ती हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो । उक्त बस्ती हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।
थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन मेयर शाहले संघीय सरकारको साथ खोज्दै आएका छन् । रवि लामिछाने गृहमन्त्री हुँदा पनि बालेनले सहयोग गर्न आग्रह गरेका थिए । तर बल प्रयोग गरेर सुकुम्वासी हटाउने महानगरको योजनामा गृहमन्त्रालयले साथ दिन नसकिने जवाफ दिएको थियो ।
औपचारिक रुपमा बालेनले गृहमन्त्रालयलाई पत्र लेख्दै सहयोगको आग्रह गरेका थिए । केही दिन अघि मात्रै पनि बालेन र तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच पनि छलफल भएको थियो ।