काठमाडौँ,भदौ १४
मलेसियामा जारी एसिया कप छनोटको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई २ सय ५५ को लक्ष्य दिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको हो ।
युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक पुरा गरे । ९१ बल खेलेका चिगारले ७ चौका र १ छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रन बटुले । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।सन्दीपले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेका थिए ।
ओमानसँगको खेलमा महंगो साबित भएका बसन्त रेग्मी र सोमापाल कामीले समान २ विकेट लिए ।ओमानसँगको पहिलो खेल ७ विकेटले पराजित नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । छनोटमा रहेका ६ टोली मध्येको विजेता यसै महिना सुरु हुने एसिया कपको लागि छनोट हुनेछ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्ने छ ।