विराटनगर,भदौ १४
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अधिनायकबादतर्फ उन्मुख हुनसक्ने खतराका संकेतहरु देखिन थालेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गंदै थापाले यस्तो बताएका हुन्।
सरकारले प्रशासनलाई आफ्नो हातमा लिएको र आफू अनुकुल कानुनलाई प्रयोगगर्न थालेको दाबी गर्दै उनले सरकारको त्यस्तो गतिविधिले सरकार अधिनायकवाद उन्मुख हुनसक्ने खतराको संकेत देखिएको बताए । तर अहिले नै सर्वसत्ताबाद हाबी भएको भन्न नमिल्ने भएपनि खतरा भने बढेको उनको भनाई थियो ।
थापाले नेपालजस्तो भूराजनितिक, धार्मिक र सामाजिक अवस्था भएको देशमा धर्मनिरपेक्षता,संघीयता र गणतन्त्र देशले धान्न नसक्ने दाबी गर्दै आफूहरुले संबिधानको परिधिभित्र रहेर त्यसलाई परिवर्तन गर्ने प्रयास गरिरहेको बताए । उनले धर्मनिरपेक्षता,गणतन्त्र र संघीयता राजनितिक प्रणाली मात्र भएकाले जनताको अभिमतबाट परिवर्तन गर्नसकिने बताए ।
सबै धर्मलाई समान स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम गरिनुका साथै चुनावी राजनितिभन्दा माथि उठेको सबैको साझा राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्था सहितको लोकतन्त्र उपयुक्त हुने अध्यक्ष थापाको भनाई छ । थापाले संघीयता भन्दा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली उपयुक्त विकल्प हुने पनि दाबी गरे ।