विमानस्थलका प्रमुखले १० करोड मागेको अडिओमा के छ ?

२७ माघ, काठमाण्डौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखहरु एकपछि अर्काे घुस प्रकरणमा समातिन थालेका छन् । घुस मागेको अडिओ बाहिरिएपछि महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको छ ।

थाइ स्माइल एयरलाइन्ससँग १० करोड घूस मागेको अडियो प्राप्त भएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो। सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताएका छन् ।

यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए । यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।

Advertisement

विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पाउने पास उपलब्ध गराएबापद चुँडालले मासिक १० हजारका दरले घुस लिने गरेको उजुरी परेपछि अख्तियारको टोलीले छापा हानेको थियो। त्यस्तै गत साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुससहित रंगेहात पक्राउ गरेको थियो।

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उजुरी परेपछि आयोगले नेपाललाई २२ लाख ५० हजार घुससहित पक्राउ गरेको थिए। एयरलाइन्सका प्रतिनिधिसँग लेनदेनसम्बन्धी बार्गेनिङ गरेको पाइएको र प्रारम्भिक अनुसन्धानमा ठाकुरको कमजोरी देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक्सन लिएका हुन् ।

Advertisement

मन्त्री नियुक्त भएपछि पटक पटक उनी विमानस्थल पुगेका थिए । किराँतीले भ्रष्टाचार महाशत्रु भएको भन्दै यसमाथिको विजयका लागि निर्ममतापूर्वक निर्णय गरिएको बताएका छन् । ठाकुरलाई निलम्बन गर्न प्रधानमन्त्रीबाट पनि निर्देश प्राप्त भएको र भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने नेपाल सरकारको नीतिअन्तर्गत ठाकुरमाथि यो कदम चालिएको उनको भनाइ छ ।

हाल बन्द रहेको थाइ एयरवेजले पाएको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन ठाकुरले एयरवेजका एक अधिकारीसँग ‘अन्डरटेबल’ रकम मागेका हुन् । सार्वजनिक भएको अडियोमा ठाकुरले एयरवेजका अधिकारीसँग गरेको कुराकानी सुनिएको छ ।

उक्त कुराकानीमा एयरवेजका अधिकारीले रकमको विषयमा आफूले माथिल्लो निकायमा कुरा गरेको, तर इन्भोइस (रसिद) विना दिन नमिल्ने जवाफ आएको बताएका छन् । त्यसपछि ठाकुरले यसको सबै जिम्मा आफूले एक व्यवसायीलाई दिएको उल्लेख गरेका छन् ।

महाप्रबन्धक ठाकुरले घुसको रकम पनि उसैले बताउने उल्लेख गरेका छन् । ठाकुरले थाइ एयरवेजको वेलफेयर फन्ड (कल्याणकारी कोष) बाट सो रकम उपलब्ध गराउन सकिने भन्दै यसका लागि बोससँग कुरा गर्नसमेत सुझाव दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top