२९ माघ, एजेन्सी ।
अमेरिका र चीन जासुसी बेलुनका बारेमा एकअर्काप्रति आक्रमक बनिरहेका बेला जापानी जल क्षेत्रमा चिनियाँ नौसैनिक जहाज प्रवेश गरेको छ । जापानको रक्षा मन्त्रालयले चिनियाँ नौसेनाको एक सर्वेक्षण जहाज आइतबार बिहान याकुशिमा टापुको दक्षिणतर्फ गएको जनाएको थियो ।
यसमा आपत्ति जनाउँदै जापानले चीनसमक्ष कूटनीतिक विरोध जनाएको छ । पछिल्लो एक वर्षभन्दा कम समयमा चिनियाँ जहाज जापानको जलक्षेत्रमा प्रवेश सातौंपटक प्रवेश गरेको छ । अधिकांश चिनियाँ जहाज सेन्काकु टापु नजिकै भेटिएका छन् । जापानको नियन्त्रणमा रहेको यस द्वीपसमूहमा चीनले धेरै वर्षदेखि दाबी गरिरहेको छ ।
चीनको बढ्दो सैन्य शक्ति र हस्तक्षेपका कारण जापान पछिल्लो पटक निकै चिन्तित र सजक हुन थालेको छ । यसैलाई मध्यनजर गर्दै जापान सरकारले रक्षा बजेट दोब्बर पार्ने घोषणा गरेको छ । जीडीपीको १ प्रतिशत रक्षा बजेट छुट्याउँदै आएको जापानले आगामी पाँच वर्षमा २ प्रतिशत खर्च गर्ने भएको छ ।
जुन रकमले उसले चीन वा उत्तर कोरियामा प्रहार गर्न सक्ने लामो दुरी हतियार प्राप्त गर्नेछ । त्यस्तै उसले जापानको थल, जल र हवाई सेनाबीच गतिलो सामञ्जस्य कायम गर्न जोइन्ट कमान्ड पनि स्थापना गर्नेछ । यो दोस्रो विश्वयुद्धपछि जापानले अपनाउँदै आएको शान्तिवादी नीतिको ठिक विपरीत हो ।
सैन्यवादको पुनरावृत्तिका कारण नभई सुरक्षा चिन्ताका कारण जापानले नयाँ नीति अख्तियार गरेको हो । किनभने–अमेरिका जापान गठबन्धन बलियो रहँदा पनि सुरक्षा वातावरण तीव्र गतिमा बिग्रिरहेको छ । २०२२ मा चीन र उत्तर कोरिया दुवैले जापानको आर्थिक क्षेत्रमा पर्ने समुद्रमा क्षेप्यास्त्र प्रहार गरे ।
सेनकाकु÷तियाउ टापुलाई लिएर जापान र चीनबीचको तनाव २०१० देखि नै बढिरहेको छ । जापानको लागि सबैभन्दा चिन्ताजनक सम्भावना भनेको चीनले बलपूर्वक ताइवान कब्जाको प्रयास गर्नु हो । टोकियोलाई के डर छ भने ताइवान कम्युनिस्ट चीनको नियन्त्रणमा जानेबित्तिकै जापानको भूराजनीतिक अवस्था नाटकीय रुपले बिग्रिनेछ ।
महत्वपूर्ण समुद्री मार्ग चीनको नियन्त्रणमा जानेछ र ¥युक्यु टापु शृंखला कब्जा गर्ने बलियो स्थितिमा पुग्नेछ । यस्तै युक्रेनमाथि रुसको आक्रमणपछि जापानको डर झन् बढेको छ । प्रधानमन्त्री फुमियो किसिदाले जनवरीमा त्यो चिन्ता व्यक्त पनि गरे, ‘भोलिको पूर्वी एसिया पनि युक्रेन बन्न सक्छ।’
त्यसैले सैन्य सुदृढीकरणमा जापान लागेको छ । विद्यमान खतराको तुलनामा अमेरिकाले अहिले दिएको सुरक्षा कमजोर रहेको जापानको निर्क्यौल छ । अमेरिकी किल्ला सोचेजति बलियो नभएको देखेरै जापानीहरु आफ्नो सुरक्षाका लागि खर्च बढाइरहेका छन्