४ फागुन, एजेन्सी ।
विश्वका चर्चित फुटबलर मध्येमा शीर्ष बरियताका रहेका खेलाडी भित्र पर्दछन् ब्राजिलियन स्टार नेयमार दा सिल्भा सान्तोस जुनियर । अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट खेलिरहेका नेयमारले अबको समरमा क्लब परिवर्तन गर्ने पछिल्लो केही समय देखि खबरहरु आइरहेका छन् ।
नेयमारलाई भित्र्याउने यही होडमा प्रिमियर लिग क्लब चेल्सी अगाडि आएको छ । उसले नेयमारका लागि ६० मिलियन युरो सम्म खर्च गर्ने तयारी गरेको खबर बाहिरिएको छ । अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार नेयमार भित्र्याउने दौडमा सबै भन्दा अगाडी देखिएको छ।
विभिन्न खेल मिडियाहरुका रिपोर्ट अनुसार चेल्सी नेयमार भित्र्याउने दौडमा सबै भन्दा अगाडी देखिएको हो। चेल्सीका मालिक टोड बोहली नेयमारलाई भित्र्याउन गम्भीर रहेको रिपोर्टहरु बाहिर आइरहेका छन्। टोड बोहली नेयमारलाई आउने समर ट्रान्सफर विन्डोमा ल्याण्ड गराउन गम्भीर रहेको बताइएको छ।
फ्रेन्च पत्रिका ले पेरिसियनले गरेको दावीलाई मान्ने हो भने टोड बोहलीले पिएसजीका अध्यक्ष नासेर अल–खेलाफीलाई भेटेका छन्। नेयमारको विषयमा छलफल गर्न बोहलीले अल–खेलाफीलाई भेटेको ले पेरिसियनले जनाएको छ।
ग्राहम पोटरको पक्षले आफ्नो आक्रमणलाई बलियो बनाउन खोजिरहेको छ र त्यसको लागि क्लबले नेयमारलाई भित्र्याउने योजना बनाएको छ। नेयमार भित्र्याउनको लागि चेल्सी ६० मिलियन युरो सम्म खर्च गर्न तयार रहेको बताइन्छ।
चेल्सीसँग नेयमारको नाम यस जनवरी ट्रान्सफर विन्डो र गत समर ट्रान्सफर विन्डोमा पनि जोडिएको थियो। तर दुवै ट्रान्सफर विन्डोमा नेयमारलाई लिएर दुई क्लब बीच सहमति हुन सकेको थिएन । गत सिजन नेयमारले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।
यद्यपि सन् २०२२–२३ को सिजन सुरु भएपछि भने नेयमार राम्रो लयमा देखिएका थिए। विश्वकप अगाडी सम्म उनी उच्च लयमा थिए। त्यसपछि केही समय चोटका कारण मैदान बाहिर रहेका नेयमार पूरानो लयमा फर्किन संघर्ष गरिरहेका छन्। अहिले जारी लिगमा पनि उनले आफ्नो जादु पस्किन सकिरहेका छैनन् ।
				
                                                    
                                                    






                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    

