५ फागुन , एजेन्सी ।
पाकिस्तानमा दैनिक उपभोग्य बस्तुको मूल्य थेग्नै नसक्ने गरि आकाशिएको छ । पछिल्लो आँकडा अनुसार, पाकिस्तानमा एक किलोग्राम चियापत्तीको मुल्य त्यहाँको १७ सय रुपैंयाभन्दा बढि पुगेको छ । यसका साथै पिठो, दाल र खाने तेल जस्ता बस्तुहरुको मुल्यमा भारी उछाल आएको छ ।
पछिल्लो ६ महिनाको अवधिमा १० किलोग्राम पिठोको मुल्यमा ४५० रुपैंयाले बृद्धि भएको छ । ६ महिना अघिसम्म ८०० मा १० किलो पिठो किनेका सर्वसाधारणहरुले अहिले १२५० रुपैयामा किन्नु परेको छ । यसैगरि खाने तेलको मुल्य पनि ३८० बाट बढेर ६२० पुगेको छ ।
एक किलोग्राम चनाको दालको मुल्य २८० बाट ४३० मा पुगेको छ । यसैगरि चियापत्ति पनि १४०० सयबाट आकासिएर १७०० बढि पुगेको छ । दैनिक उपभोग्य बस्तुहरुको दोहोरो, तेहोरो रुपमा भाउ बढिरहँदा एकातिर आम नागरिकहरुको ढाड भाचिएको छ भने अर्कातिर देश आर्थिक संकटमा परेको छ ।
पाकिस्तान सरकार यो संकटबाट पार पाउँनका लागि आईएमएफसंग आशा गरिरहेको छ । तर ऋण दिन पनि आईएमएफले संकोच मानिरहेको छ । आईएमएफले ऋण दिनका लागि खर्च कटौती, मूल्यबृद्धि लगायतका शर्तमाथि शर्त राखेको छ । यसैबीच यहाँ राजनीतिक उथलपुथल पनि मच्चिने संकेत देखिएकोछ ।
मुख्य विपक्षी नेता इमरान खान पक्राउ पर्न सक्ने देखिएको छ । चुनाव आयोगको कार्यालयबाहिर प्रदर्शन गरेको मामिलामा अदालतले उनको अग्रिम जमानतलाई खारेज गरिदिएको छ । यस्तोमा उनको अगाडि अब गिरफ्तारीको खतरा मडारिरहेको छ । सम्भवतः यही कारण उनका हजारौं समर्थकहरु लहौरको जमान पार्कस्थित उनको घरको बाहिर भेला भएका छन् ।
विहीबार रातदेखि नै इमरान खानका समर्थक तथा पीटीआईका कार्यकर्ताहरु उनको घर बाहिर जुट्न थालेका हुन् र उनीहरुले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उलेख्य संख्यामा महिला तथा बालबालिकाहरु प्नि इमरानको समर्थनमा आएका छन् । उनीहरुले आफ्नो सुरक्षाका लागि लाठी र डंडा साथमा राखेका छन् ।
इमरानलाई प्रहरीले जुनसुकै बेला पनि पक्राउ गर्न सक्ने हुँदा उनीहरुले त्यहाँ रोक्नका लागि जम्मा भएका हुन् । लाहौरबाट इस्लामाबादसम्म स्वतन्त्रता मार्च निकाल्ने दौरानमा इमरानमाथि सांघातिक हमला भएको थियो । सो क्रममा घाइते भएपछि देखिनै उनी लाहौरको जमान पार्कस्थित घरमा बसिरहेका छन् । सोही बेलादेखि नै उनको घर बाहिर समर्थकहरुको भिड लाग्ने गरेको थियो, जुन अहिले बढेको हो ।
कार्यकर्ताहरुले प्रायजसो उनको घरबाहिर शहबाज शरीफ सरकार र प्रहरीविरुद्ध नाराबाजी गर्ने गरेका छन् । यदी इमरान खानलाई प्रहरीले पक्राउ गर्ने कोशिस गर्यो भने देशभरका सडकहरुमा आन्दोलन उग्र पार्ने पीटीआईका नेता मुशर्रत जमशेदले चेतावनी दिएका छन् । उनले इमरानलाई जेल हाल्दा देशैभरीको जेल भर्ने क्याम्पियन चलाउनेसम्मको चेतावनी दिएका छन् ।