सन्दीप विदेश जाने-नजाने टुंगो लाग्दै

सन्दीप विदेश जाने-नजाने टुंगो लाग्दै

१४ फागुन, काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ । शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो ।

लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।यस्तै लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे पनि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठीक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ ।

सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमति दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ । सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमति माग्नुपर्ने छैन ।

लामिछानेमाथि नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप छ । उनी विरुद्धको बलात्कारको आरोप लागेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । शुक्रबार नै लामिछाने विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन ।

सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदन सहित विदेश जान अनुमती मागिएको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो । आइतबार दुई जना न्यायाधीश रहने संयुक्त इजलासमा दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग शृङ्खला खेल्दैछ । नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए। अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.