१९ फागुन, काठमाण्डौ ।
राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग मत माग्ने क्रम जारी राखेका छन् । नेम्वाङले बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय पुगेर मत मागेका थिए । आज नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग मत मागेका हुन् ।
पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता लोसपा कार्यालय पुगेका थिए । एमाले सचिव भट्टराईले नेम्वाङको उमेदवारीप्रति महन्थ ठाकुर सकारात्मक रहेको र २४ गते बैठक बसेर निर्णय गर्ने बताएको जानकारी दिए । “सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न पार्टीको पक्षबाट आग्रह गरेका छौँ ।
२४ गते पार्टीको बैठक बसेर निर्णय गर्ने कुरा गर्नु भएको छ । सुवास नेम्वाङको उमेदवारीप्रति सकारात्मक प्रतिक्रिया पाएका छौँ,” भट्टराईले भनेका छन् । राष्ट्रपतिको निर्वाचनमा ह्वीप नलाग्ने र सांसदहरुले विवेक पुर्याएर मत दिने भट्टराईले बताएका छन् । उनका अनुसार अब नागरिक उन्मुक्ति र जनमुक्ति पार्टीलाई भेट्ने तयारी नेम्वाङको छ ।
लोसपाका नेता राजेन्द्र महतोले नेम्वाङलाई शुभकामना दिइएको बताएबका छन् । “शुभकामना दियौं । हामी आठ दलीय गठबन्धनमा छौँ । अध्यक्षले पार्टी बैठकमा तपाईंको आग्रह राख्छौँ भन्नुभएको छ,” उनले भने, “अध्यक्ष नै अर्का उमेदवार रामचन्द्र पौडेलको प्रस्तावक हुनुहुन्छ । राष्ट्रपतिका दुवै उम् मेदवार योग्य हुनुहुन्छ ।” २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उमेदवार छन् ।
पौडेल भने सांंसदहरुलाई प्रदेशस्तरमा भेला गर्दै मत मागिरहेका छन् । एमालेको तर्फबाट समेत राष्ट्रपतिमा उम्मेदवारी परेपछि भोट क्रस हुन नदिन आठ दलले प्रदेश स्तरीय भेला राखेका हुन्। अहिले आठ दल एकातिर र एमाले अर्कोतिर भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी अझै खुलेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी पनि अनिर्णित छन्।