चितवन २ मा रविविरुद्ध जनमोर्चा पनि मैदानमा उत्रिने

१ चैत, काठमाण्डौ ।
वैशाख १० गते उपचुनाव हुन लागेको चितवन क्षेत्र नम्बर २ मा मतदाता बढेका छन् । आगामी उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक ६ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए ।

उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी विरोधका कार्यक्रम सकिएको छ । ‘पुराना मतदातामा मृत्यु भएका र दोहोरो नामावली भएका गरी दुई सयजना हाराहारी मतदाताको नामावली काटिने छ,’ उनले भने । चितवन क्षेत्र नम्बर २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् ।

कार्यालयले जाँचबुझपछि नामावली पठाउन लागेको हो । अन्तिम नामावली भने चैत १५ मा प्रकाशन हुनेछ । मतदाता नामावली प्रकाशनसँगै चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । चैत २० मा उमेदवारी दर्ता, चैत २१ मा उमेदवारविरुद्ध दाबी विरोध, चैत २२ मा उम्मेदवारको नामावली प्रकाशन र चैत २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

Advertisement

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मतदान भएको थियो । प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ लगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा प्रत्यक्षतर्फको उम्मेदवारको नाम सिफारिस गर्न नेपाली काँग्रेसले पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । आज पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

उपचुनावका लागि चितवनमा १८ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । जसमध्य राष्ट्रिय जनमोर्चा पनि एक हो । जनमोर्चाले फागुन ९ गते एक विज्ञप्ती निकाल्दै चितवन २ मा उपचुनावमा भाग लिने निर्णय गरेको छ । रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरेको सन्दर्भमा जनमोर्चाले सोविरुद्ध उम्मेदवारी दिने तयारी गरेको हो ।

‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको “स्वतन्त्र” पार्टीको भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ’, उनको विज्ञप्तिमा भनिएको छ ।

यसअघिको चुनावमा यहाँ एमाले, तत्कालिन गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवारले भाग लिएका थिए । दुवैलाई रवि लामिछानेले देशकै सबैभन्दा धेरै मतान्तरसहित पराजित गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top