२ चैत, एजेन्सी ।
इरान र साउदी अरेबियाबीच भएको सम्झौताको धक्काबाट त्रासमा रहेको इजरायललाई अर्काे समाचारले थप चोट पुर्याएको छ । चीन, इरान र रुसले आफ्ना नौसेनाको यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने निर्णय गरेका छन् । यो जानकारी चीनको रक्षा मन्त्रालयले दिएको हो ।
यस अभ्यासलाई ‘सेक्युरिटी बन्ड २०२३’ नाम दिइएको छ । चीनको रक्षा मन्त्रालयले थप जानकारी दिएको छैन। यो अभ्यासमा इरान, रुस र चीनका अलावा पाकिस्तान, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) पनि सहभागी हुने छन् ।
यो अभ्यासमा अमेरिका तथा पश्चिमाकाृ विपरित कित्तामा रहेका देशहरु समावेश हुनेछन् । यो अभ्यास हुने ठाउँ पर्शियन गल्फको ठीक अगाडि छ। इजरायलले गत महिना इरानलाई आफ्नो ड्रोनले ओमानको तटमा एउटा तेल ट्याङ्करलाई निशाना बनाएको आरोप लगाएको थियो।
इजरायलले यसलाई उत्तेजनाको संज्ञा दिएको छ । चीनको रक्षा मन्त्रालयले यस अभ्यासको उद्देश्य सहभागी देशहरूबीचको आपसी सहयोग अभिवृद्धि गर्नु रहेको जनाएको छ । चीनका अनुसार यो अभ्यासले यस क्षेत्रमा सकारात्मक उर्जा बढाउने छ, जसले शान्ति र स्थिरतालाई बढावा दिनेछ। यो अभ्यास आइतबारसम्म चल्नेछ ।
चीनको तनाव इजरायलसँग मात्र नभई अमेरिकासँग पनि बढ्न सक्ने अनुमान गरिएको छ । चीनले युक्रेनमा रुसले गरिरहेको आक्रमणको आलोचना गर्न अस्वीकार गरेको बेला चीनले यो अभ्यास आयोजना गरेको हो । अमेरिका र उसका सहयोगीहरूले रुसको आलोचना मात्र गर्दैनन्, त्यसमाथि विभिन्न प्रकारका प्रतिबन्धहरू पनि लगाएका छन् ।
यस अभ्यासका लागि चीनबाट गाईडेड मिसाइल डिस्ट्रोयर नानिङ पठाइएको छ । यो विनाशकले समुद्रमा खोज र उद्धार बाहेक अन्य गैर–लडाई अभियानहरू सञ्चालन गर्नेछ। तीन देशले सन् २०१९ मा पनि यस्तो अभ्यास गरेका थिए ।यस क्षेत्रमा चीनको बढ्दो हस्तक्षेपबारे अमेरिका र उसका सहयोगीहरूले सधैं चिन्ता व्यक्त गर्दै आएका छन्।
चीन यस क्षेत्रका देशहरूसँग नजिक हुँदै गइरहेको छ जसमा अमेरिका पाखा लाग्दै आएको छ। गत हप्ता मात्रै चीनका कारण साउदी अरेबिया र इरानबीच सम्झौता भएको थियो । यो सम्झौतापछि दुवै देशले सात वर्षको शत्रुता बिर्सेर एकजुट हुन सहमत भएका छन् । सन् २०१८ मा पत्रकार जमाल खशोग्गीको हत्या भएपछि साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको थियो ।