विराटनगर,भदौ १६
आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको शतकीय साझेदारीसँगै नेपालले एसिया कप छनोटमा मलेसियासामू १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । खेलमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पारी सम्हालेका थिए ।
छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरेका ऐरी व्यक्तिगत ५४ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए । आरिफले बसन्त रेग्मीसँग आक्रामक पारी खेल्दै १४ बलमा २७ रनको साझेदारी गरे ।
उनी ६४ रनमा अविजित रहे । ४८ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का समेत हाने र नेपालले ३० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो ।अहिले मलेसियाले ब्याटिङ गरिरहेको छ ।