२५ चैत, एजेन्सी ।
बलिउड अभिनेता शाहरुख खान विश्वकै सबैभन्दा प्रभावशाली व्यक्ति घोषणा भएका छन् । प्रतिष्ठित पत्रिका टाइम म्यागजिनले ‘टाइम हन्ड्रेड पोल’ शाहरुखलाई पहिलो नम्बरमा राखेको हो । एलन मस्क, लियोनल मेस्सी, जस्ता चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई समेत उछिन्दै शाहरुखले प्रभावशाली व्यक्तिको उपाधि जितेका हुन् ।
बलिउडका ठूला स्टारमध्ये एक शाहरुखले अहिलेसम्म १०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । शाहरुखपछि उक्त सूचीमा इस्लामिक गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने इरानी महिलाहरूलाई राखिएको छ । तेस्रो र चौथो स्थानमा क्रमशः प्रिन्स ह्यारी र मेगन मर्केल छन् भने पाँचौँ स्थानमा फुटबल खेलाडी मेस्सी छन् ।
यी बाहेक हलिउड अभिनेत्री मिशेल योहले पनि यो सूचीमा स्थान बनाएकी छिन् । यसपछि सेरेना विलियम्स, फेसबुकका सीईओ मार्क जुकरबर्ग र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पनि यो सूचीमा परेका छन् । रिपोर्टका अनुसार यस पोलमा करिब १२ लाख मानिसले भोट दिएका थिए र सबैभन्दा धेरै भोट पाएर शाहरुख शीर्ष स्थानमा रहेका हुन् ।
म्यागजिनले शाहरुखलाई भारतका लोकप्रिय सुपरस्टार भएको बताउँदै उनलाई नाइट राइडर्स ग्रुपजस्ता क्लबको सहसंस्थापकको रुपमा चिनाएको छ । दिलवाले दुल्हनियाँ ले जाएँगे र कुछ कुछ होता है जस्ता फिल्मबाट शाहरुखको छवि सुपरस्टारको रुपमा स्थापित भएको टाइमले जनाएको छ ।
शाहरुखको पछिल्लो फिल्म ‘पठान’ले विश्वव्यापी १३० मिलियन डलर कमाएको समेत उल्लेख छ । यो सूचीको पूर्णपाठचाहिँ टाइम म्यागजिनले अप्रिल १३ मा सार्वजनिक गर्ने भएको छ ।