विराटनगरमा नयाँ वर्षदेखि नो हर्न,गुट्खा र चुरोट निषेध

विराटनगरमा नयाँ वर्षदेखि नो हर्न,गुट्खा र चुरोट निषेध

२८ चैत, विराटनगर ।
कोशी प्रदेशको राजधानी तथा एक्लो महानगर विराटनगरमा नयाँ वर्ष वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न नपाइने भएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले यी अस्वस्थकर बस्तुहरुको सेवनमा निषेध गर्ने निर्णय गरेको हो ।

गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ ।

साथै महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलनलगायतका अभियान सञ्चालन गरिरहेको पनि मेयर कोइरालाले बताएका छन् । पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ ।

कोइरालाले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सबैलाई आग्रह पनि गरेका छन् । ’विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ’, कोइरालाले भने, ’सहरको सुन्दरता र सभ्यतासँग ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु ।

यस्तै ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिएकी थिइन । केही समयअघि मात्रै विराटनगरको मुख्य बजार क्षेत्रमा पार्किङ निषेध गरेको महानगर सरोकारवालाकै विरोध पछि आफ्नो निर्णयबाट पछि हटेको थियो । यस्तै यसअघि नै प्रदेशभरि नो हर्न लागू गरिएपनि कार्यान्वयान नभएपछि प्रदेश प्रहरी कार्यालय सो निर्णयबाट पछि हटेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.